गोरखा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण गोरखाको गण्डकी गाउँपालिकामा २१ घरपरिवार विस्थापित भएका छन् ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार बाढीबाट प्रभावित घरपरिवारका मानिसहरू सुरक्षित रहे पनि केही घरमा गम्भीर क्षति पुगेको छ । उनले भने, “मान्छे त हराएका छैनन् तर कुनै घरको एउटा पिल्लरमा हानेको छ । केही घर भाँच्चिएर ढल्न ठिक्क भएका छन् । घर बगाएरै लगेको भने छैन ।”
बाढीको जोखिम बढेपछि घरभित्र रहेका धान, मकै, चामल, कपडालगायत सामग्री सुरक्षित स्थानमा सारिएको उनले बताए ।हाल प्रभावित क्षेत्रमा सामग्री उद्धार गर्ने तथा भेटिएका शवको व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
थप राहत तथा उद्धारका कार्यक्रम तय गर्न बुधबार गाउँ कार्यपालिकाको बैठक बस्ने उनले बताए ।गण्डकी गाउँपालिकामा सबैभन्दा बढी क्षति वडा नम्बर ६ र ७ मा भएको छ । गाउँपालिकामा रहेका ११ वटा झोलुङ्गे पुलमध्ये सातवटामा क्षति पुगेको छ ।
झोलुंगे पुलहरू क्षतिग्रस्त भएपछि आवतजावत प्रभावित भएको छ भने विद्यार्थीहरू समेत पठनपाठनबाट वञ्चित भएका छन् ।अध्यक्ष तिमिल्सिनाका अनुसार तत्काल क्षतिग्रस्त सडक तथा बाटोको मर्मत र स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको छ ।
उनले विस्थापित परिवारलाई राहत वितरण, अस्थायी आवासको व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।“पुनर्निर्माणको दिशामा अगाडि नबढ्ने हो भने त्यसले पनि थप क्षति पुर्याउन सक्छ । अहिले नदी घटेको स्थिति छ । हामीले पुनर्निर्माणलाई जोड दिनुपर्छ,” उनले भने ।
भोटेकोसी बाढीले गण्डकी गाउँपालिकाका वडा- १, २, ६, ७ र ८ मा प्रभाव पारेको गाउँपालिकाले जनाएको छ ।









