काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनलमा यूएईलाई ४५ रनले हराउँदै नेपालले उपाधि जितेको हो।
उपाधिसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। प्रिमियर कपको विजेता टोली एसिया कपका लागि छनोट हुने प्रावधान छ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमा अलआउट भयो। यूएईका राहुल चोप्राले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले ११५ रन बनाए। त्यस्तै शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए।
नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले शतक बनाए। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०४ रन बनाए।
गुल्सन झाले ५२ रनकाे अर्धशतकीय पारी खेले। अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले ७, करण केसी र ललित राजवंशीले १–१ रन बनाए।
यूएईका इब्रार अहमदले ४ तथा खुजैमा तनवीरले २ विकेट लिए। हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिए।









