सप्तगण्डकी बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा ज्ञवाली र सचिवमा अधिकारी

चितवन । नेकपा एमाले निकट सप्तगण्डकी बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा कृष्णप्रसाद ज्ञवाली चयन भएका छन् । क्याम्पस एकाइको आज सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा ११ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो । पूर्वअध्यक्ष गिरीराज उपाध्यायले बीचमा एकाईको अध्यक्षबाट राजीनामा दिएपछि ज्ञवालीले यसअघि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र कँडेल, सचिवमा दिपेन्द्र अधिकारी, उपसचिवमा विन्दु ओस्ती र कोषाध्यक्षमा ध्रुव आचार्य चयन भएका छन् । त्यस्तै कार्यसमितिका सदस्यहरुमा राजेश बानियाँ, तीर्थराज वाग्ले, रवि तिवारी, मनोज महतो, बलदेव प्याकुरेल र गणेश पौडेल चयन भएका छन् । नेपाल प्रगतिशिल प्राध्यापक संगठन जिल्ला अध्यक्ष धर्मराज घिमिरेको अध्यक्षतामा, एकाइका पूर्वअध्यक्ष गोविन्द पराजुली र एमाले जिल्ला कमिटी सदस्य अनोज जोशीको निर्वाचन मण्डलले क्याम्पस एकाइ चयन गरेको हो ।

अधिवेशनको उद्घाटन शत्रमा क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा बागमती प्रदेशका पूर्वमन्त्री जेएन थपलियाले प्राध्यापकहरु कक्षा कोठाको अतिरिक्त समय निकालेर समाजको राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय हुन आग्रह गरे । उनले प्राध्यापक जस्तो बौद्धिक व्यक्तित्वहरु स्टनबाजीको पछि नलागी राजनीतिक घटनाहरुलाई सही ढंगबाट विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष मनोज विष्टले एमाले नेतृत्वको सरकारले नागरिकले अनुभूति गर्ने गरी विकासका कामहरु गर्नुपर्ने विचार राखे । उनले अहिलेको सरकारले नागरिकका समस्याहरु समाधान गर्न नसकेमा पार्टीको लोकप्रियता अगामी २०८४ को निर्वाचनमा झनै घट्दै जाने बताए । उपाध्यक्ष विष्टले चितवन पार्टी नेतृत्व पार्टीको साघुँरो घेराबाट बाहिर आउन पनि सुझाव दिए । त्यसैगरी एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एमालेले देशमा अहिले कांग्रेससँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको बताउँदै पार्टीप्रति भएका घेराबन्दीको विरुद्ध बौद्धिक वर्ग उभिनुपर्ने बताए । उनले २०८४ को निर्वाचनमा तीनै तहको सरकार एमाले एकल ढंगबाट बनाउन सक्ने गरी सबै तयारीमा जुट्न आग्रह गरे । उनले आफू पनि प्राध्यापक पेसाबाट नै आएको भन्दै प्राध्यापनसँगै केही समय पार्टीका काममा पनि खर्च गर्न अनुरोध गरे । कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठन प्रदेश सचिव नारायण पौडेलले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

ज्ञवाली नेतृत्वको नयाँ एकाईलाई शुभकामना दिँदै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहालले आफ्नो र क्याम्पस प्रशासनको तर्फबाट भरपुर सहयोग हुने विश्वास दिलाए । अधिवेशनको बन्द शत्रले निवर्तमान अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले प्रस्तुत गरेको भावी योजनासहितको कार्यप्रगतिको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष नरेन्द्र कँडेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको