जनहित बहुउद्देश्य सहकारीको २८औँ साधारण सभा सम्पन्न, उत्कृष्ट किसानसहित विभिन्न व्यक्ति सम्मानित

गिता पंगेनी, चितवन । जनहित बहुउद्देश्य सहकारी संस्था लिमिटेड, रत्ननगर नगरपालिका–१३ माधवपुरको २८औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाको अवसरमा संस्थाले वर्षभरि सबैभन्दा धेरै दूध बिक्री गर्ने किसानसहित विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ।

संस्थाका अनुसार सबैभन्दा धेरै दूध बिक्री गर्ने किसानतर्फ पूजन बोहोरा प्रथम, केदारमणि भट्ट द्वितीय र प्रकाशचन्द्र भट्टराई तृतीय भएका छन्। त्यसैगरी रमेश तिमिल्सिना, कृष्ण अधिकारी र विन्दा भट्टलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। सबैभन्दा धेरै दूध खरिद गर्ने किरणचन्द्र तिवारी र रमेश गौतमलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।

त्यस्तै, एसईईमा उत्कृष्ट अंक ल्याउने सिम्खडा, बाल बचततर्फ सफल पुरी, ऐच्छिक बचततर्फ रामनाथ पाध्य र राजकुमार बुढाथोकी तथा असल ऋणीतर्फ बुद्धिबहादुर पाठक, झमकमाया घर्ती, शान्ता ढकाल, गंगा भण्डारी, राजन थापा, ईमानवबहादुर नेपाली र मिना दानकुटीलाई सम्मान तथा पुरस्कृत गरिएको छ। उत्कृष्ट कर्मचारीका रूपमा ईश्वरीप्रसाद गौतम सम्मानित भएका छन्।

२०५६ सालमा ४६ जना सेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल ३१५ पुरुष र ३७५ महिला गरी कुल ६९० जना सदस्य रहेको विवरण प्रस्तुत गरिएको छ।

साधारण सभामा संस्थाका अध्यक्ष गणेश खनालले भावी योजना, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सचिव किरण तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भोजराज सिम्खडाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक राजीव पाठकले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाले दूध संकलन, दाना तथा चोकर बिक्री वितरण र बचत तथा ऋणको कारोबार गर्दै आएको छ। प्रस्तुत आर्थिक विवरणअनुसार संस्थाले यस वर्ष ६ लाख १५ हजार ४९ रुपैयाँ नाफा कमाएको छ। संस्थाको कुल आम्दानी २ करोड ८० लाख ९५ हजार ७१९ रुपैयाँ र खर्च २ करोड ७४ लाख ८० हजार ६५९ रुपैयाँ रहेको छ।

कार्यक्रममा जिल्ला चितवन सहकारी संघका अध्यक्ष प्रेमनाथ दुवाडी, संस्थापक अध्यक्ष डम्बर पुरी र निवर्तमान अध्यक्ष टीका थापालगायतले मन्तव्य राखेका थिए।

रत्ननगर नगरपालिका वडा नं. १३ का अध्यक्ष पोटबहादुर प्रमुख अतिथि रहेको कार्यक्रम संस्थाका अध्यक्ष गणेश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको