चितवन मेडिकल कलेजका चिकित्सक बाढी प्रभावित क्षेत्रमा, निःशुल्क स्वास्थ्य सेवा दिने

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित नुवाकोट र रसुवामा स्वास्थ्य सेवा प्रदान गर्न त्यसतर्फ गएको छ।बाढी प्रभावित क्षेत्रमा पुगेर टोलीले असोज ५ गतेसम्म विभिन्न स्थानमा स्वास्थ्य उपचार तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नेछ। टोलीको नेतृत्व सर्जन डा. वीरेन्द्र राउतले गर्नुभएको छ।

टोलीमा मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी, मनोरोग, आँखा रोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन्। टोलीमा डा. वीरेन्द्र राउत, डा. दीपक बम, डा. दीपेश कोइराला, अशोक आचार्य, डा. चन्दन जैसवाल, महेश कुमार शाही, विकास पटेल, रोशन चौधरी, निश्चल काफ्ले, विजय ढुंगेल, विक्रम साह, दिलीप दिवाकर, रविशंकर यादव, रुपेश के. यादव, कृष्ण खड्का, इमरान खान, सुशील देवकोटा, विनोद खरेल, सोम रेग्मी र प्रवीण भट्टराई रहनुभएको छ।

चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रताप देवकोटाका अनुसार २१ जना चिकित्सक तथा नर्ससहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। टोलीले भिडियो एक्सरे, युरिनरी आरई, पीएफटी लगायतका स्वास्थ्य परीक्षणसमेत गर्नेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइनेछ।
टोलीले नुवाकोट र रसुवाका जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी आवश्यकता अनुसार विभिन्न स्थानमा स्वास्थ्य सेवा प्रदान गर्नेछ। आवश्यक देखिए थप चिकित्सकीय टोलीसमेत पठाइने देवकोटाले बताउनुभयो।

“अहिले गएको टोलीले पाँच दिन काम गर्नेछ। अवस्था हेरेर अर्को टोली पठाउन वा यही टोलीलाई थप समयसम्म राख्न सकिन्छ,” देवकोटाले भन्नुभयो। बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाइएको उहाँले बताउनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको