पृथ्वी राजमार्ग अवरुद्ध  भएपछि वैकल्पिक सडक र  बेलीब्रिज बनाउन गण्डकी गाउँपालिकाको माग

गोरखा । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिकाले वैकल्पिक सडक निर्माणसँगै ८५ मिटर लामो बेलीब्रिज निर्माणका लागि सरकारसँग पहल गर्न आग्रह गरेको छ।भोटेकोशी नदीमा आएको बाढी र लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायतका क्षेत्रमा सडक क्षतिग्रस्त भई यातायात पूर्णरूपमा प्रभावित भएपछि गाउँपालिकाले वैकल्पिक आवागमनको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो।

गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले हस्ताक्षर गरेको पत्रमार्फत गण्डकी गाउँपालिका–६ पल्लोटार (फिस्लिङपारि) देखि वडा नं. ८ सिउरेनीटार (बेनीघाट) सम्मको बाँकी करिब १.५ किलोमिटर सडकको ट्र्याक खोल्न आवश्यक भोगाधिकार तथा प्रक्रियागत स्वीकृति उपलब्ध गराउन माग गरिएको छ।

गाउँपालिकाका अनुसार उक्त खण्डको ट्र्याक खोल्न सके करिब ६ मिटर चौडाइको वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउन सकिन्छ। यसबाट पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई वैकल्पिक मार्ग उपलब्ध हुनेछ।

त्यस्तै, गण्डकी गाउँपालिका–६ हिक्लुङ र धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० स्थित मौवाखोलाको घुम्ती क्षेत्रमा करिब ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सकिने प्राविधिक प्रतिवेदन रहेको गाउँपालिकाले जनाएको छ।बेलीब्रिज निर्माण भएमा उक्त क्षेत्रबाट समेत वैकल्पिक सडक सञ्चालन गर्न सहज हुने भन्दै गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेको छ।

राजमार्ग अवरुद्ध हुँदा दैनिक आवागमन, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी र स्वास्थ्यलगायतका सेवामा समेत असर परेकाले विपद्को अवस्थामा नागरिकको आवागमन र अत्यावश्यक सेवा निरन्तरता दिन वैकल्पिक सडक तथा बेलीब्रिज निर्माणलाई प्राथमिकतामा राख्न गाउँपालिकाले आग्रह गरेको हो। गाउँपालिकाले प्रधानमन्त्रीसमक्ष पठाएको पत्रको बोधार्थ गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरालाई समेत दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको