चितवन । रसुवा बाढीमा परी चितवनमा संकलित शवहरु जमिनमुनि गाडिने भएको छ । शवहरु सढेर गन्हाउन थालेका र महामारीजन्य रोगको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा नारायणी र त्रिशुली नदी किनारबाट संकलित २३३ शवमध्ये हालसम्म चार जनाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको छ । प्रशासनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन् । तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।
तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गर्नुपर्ने जनाएको छ । प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ “सम्भावित संक्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनले १३ भदौको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३ बमोजिम ती शवको जमिनमै व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”
निर्णयअनुसार सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ ।










