गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ मा वि.सं. २०२९ वैशाख २८ गते जन्मिएका प्रेम बहादुर गुरुङ गण्डकी प्रदेशको कम्युनिष्ट राजनीतिमा संघर्ष र सिद्धान्तका प्रतीकका रूपमा स्थापित नाम हो । सामान्य ग्रामीण परिवेशमा हुर्किएका गुरुङले जीवनको प्रारम्भदेखि नै सामाजिक न्याय र कम्युनिष्ट राजनीतिक चेतनालाई आफ्नो मार्गदर्शक बनाए।
उनको सार्वजनिक यात्रा २०४२ सालमा विद्यार्थी राजनीतिबाट सुरु भयो। ठाकुराम बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा अखिल विद्यार्थी युनियनमा आवद्ध हुँदै उनले संगठन, आन्दोलन र जनचेतनाको अभ्यास गरे। राजनीतिक अस्थिरता र दमनका बीच विद्यार्थी पंक्तिमा देखाएको सक्रियताले उनलाई छिट्टै एक प्रतिबद्ध कार्यकर्ताको रूपमा स्थापित गरायो। यही निरन्तरता र निष्ठाका कारण २०४९ सालमा उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्णकालीन कार्यकर्ता बने र त्यसयता गण्डकी अञ्चललाई केन्द्र बनाएर संगठन विस्तारमा जुटे।
गुरुङको राजनीतिक जीवन पद र प्रतिष्ठाभन्दा पनि संघर्ष, दृढ अडान भएको नेताको रुपमा चिनिन्छ। सशस्त्र द्वन्द्वका कठिन कालखण्डमा उनी राज्य पक्षबाट पक्राउ परे र अमानवीय शारीरिक तथा मानसिक यातना सहन बाध्य भए। समयले अर्को मोड लिँदा माओवादी पक्षबाट पनि उनी मानसिक, सामाजिक र शारीरिक दवाबको सिकार बने। घरबाट विस्थापित हुनु, परिवारबाट टाढा रहनु र जेल जीवनका कठोर अवस्थासँग जुध्नु उनका लागि तत्कालिन दैनिकीनै बन्यो । तर यति कठिन परिस्थितिमा पनि उनले आफ्नो वैचारिक प्रतिबद्धतामा कहिल्यै सम्झौता गरेनन्। जेलभित्रै रहेर संगठन निर्माण र वैचारिक संघर्षलाई निरन्तरता दिनु उनको राजनीतिक दृढताको दुर्लभ उदाहरण हो।
संगठनात्मक जिम्मेवारीमा पनि गुरुङको यात्रा क्रमशः उचाइतर्फ उक्लँदै गयो। पिपुल्स भोलिन्टियर्सको प्रमुख, क्षेत्रीय सचिव, जिल्ला सचिवालय सदस्य, तमू संघका संस्थापक केन्द्रीय सदस्यजस्ता भूमिकाबाट हुँदै उनी गोरखा जिल्ला कमिटीको सचिव र अध्यक्षसम्म पुगे। हाल उनी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहँदै पार्टी संगठन र जनसम्बन्ध सुदृढीकरणमा लागिरहेका छन्।
राजनीतिक संघर्षका वर्षहरूमा गुरुङ जनताको दैनिकीसँग नजिक रहे। विपद्का बेला राहत वितरण, सामाजिक अभियान र स्थानीय समस्या समाधानमा उनको योगदान उल्लेखनीय रह्यो। पारदर्शी कार्यशैली, जनसमस्याप्रतिको संवेदनशील दृष्टिकोण र लोकतान्त्रिक कम्युनिस्ट मूल्यप्रतिको अडिग आस्थाले उनलाई फरक पहिचान दिएको छ।
समग्रमा, प्रेम बहादुर गुरुङको जीवन त्याग, अनुशासन र वैचारिक निष्ठाले भरिएको एउटा प्रेरणादायी राजनीतिक कथा हो। कठिन समय र अनेक चुनौतीका बीच पनि नझुक्ने उनको साहस र प्रतिरोध क्षमता भावी पुस्ताका लागि राजनीतिक इमानदारीको उदाहरणका रूपमा रहनेछ।
गुरुङले जारी नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारीको औपचारिक रूपमा घोषणा गरेका छन्। पार्टीभित्र मात्र होइन, आम कार्यकर्ता र जनसमुदायमाझ पनि लोकप्रिय नेताका रूपमा परिचित गुरुङले आफूले केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदा सबैको साथ, सहयोग र समर्थन प्राप्त हुनेमा पूर्ण विश्वास रहेको बताएका छन्। उनले पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।










