काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा चितवनको रत्ननगर नगरपालिका–३ निवासी अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले योजना आयोगको सदस्यमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई पनि नियुक्त गरेको छ ।
युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुन् ।
उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।