फेरि अर्को अध्यादेशको तयारी, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्ष कैद

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको बताइएको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय प्रस्ताव गरिएको छ । विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको उक्त प्रस्ताव मन्त्रिपरिषदको विधायक समितिमा छलफलको चरणमा रहेको बताइएको । त्यसपछि मन्त्रिपरिषद बैठकमा पेश हुने छ ।

मन्त्रिपरिषद्ले अध्यादेशका रुपमा राष्ट्रपतिसमक्ष रिफारिस गर्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको