गण्डकी गाउँपालिका–७ मा ‘वडा अध्यक्षसँग शिक्षक’ कार्यक्रम सम्पन्न

गोरखा । गण्डकी गाउँपालिका–७ ले आयोजना गरेको “वडा अध्यक्षसँग शिक्षक” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षक र जनप्रतिनिधिबीच आपसी समन्वय तथा शैक्षिक योजनालाई प्रभावकारी बनाउन उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तुलसी रेग्मीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) उपस्थिति रेहेको थियो। विशेष अतिथिहरूमा विभिन्न वडाका वडा अध्यक्षहरू तथा शिक्षक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षकका रूपमा पुर्ण प्रसाद दवाडीले ‘गुणस्तरीय शिक्षा र स्थानीय सरकारको भूमिका’ विषयमा विस्तृत प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो। उहाँले विद्यालय र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै शिक्षामा रूपान्तरण सम्भव हुने बताउनुभयो।

वडा नं ७ भित्रका १ माध्यमिक र ३ आधारभूत विद्यालयका शिक्षकहरू कार्यक्रमका सहभागी रहेका थिए। सहभागी शिक्षकहरूले विद्यालयमा देखिएका समस्या, शैक्षिक सुधारका सम्भावना, तथा सामुदायिक सहयोगका आवश्यकतामाथि सुझावसमेत दिएका थिए।

गाउँपालिका अध्यक्ष  दिपक तिमिल्सिनाले कार्यक्रममा बोल्दै शिक्षक समुदायलाई सम्मानका साथ जिम्मेवारीपूर्वक कार्य गर्न प्रेरित गर्नुभयो। उहाँले गण्डकी गाउँपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिँदै आएकाले शिक्षकहरूको हौसला, तालिम र स्रोत-साधन उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताउनुभयो।

वडा अध्यक्ष तुलसी रेग्मीले पनि शिक्षालाई विकासको मूल आधारको रूपमा व्याख्या गर्दै वडा स्तरमै विद्यालयहरूलाई आवश्यक सहयोग र मार्गदर्शनका लागि स्थानीय सरकार सधैं तत्पर रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम नेत्रज्योति आधारभूत विद्यालयमा सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यालय प्रमुखहरू, शिक्षकहरू, स्थानीय अगुवाहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको