गोरखा। गण्डकी गाउँपालिका–७ मा अवस्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई तारा नमस्ते फाउन्डेसनले स्टेशनरी सामग्रीसँगै खेलकुद सामग्री वितरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।
विद्यार्थीलाई वडा अध्यक्ष तुलसी रेग्मी र फाउन्डेसनका प्रतिनिधि लिलोले कापी, कलम र सिसा (पेन्सिल) वितरण गरेका हुन ।


विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले उक्त सहयोगका लागि फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गर्दै भने “तपाईंहरूको उदार सहयोगले विद्यार्थीहरूको शैक्षिक आवश्यकता मात्र पूरा गरेको छैन, उनीहरूमा अध्ययन र खेलप्रतिको उत्साह पनि थपेको छ।”
विद्यालय परिवारले फाउन्डेसनप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक पहलहरू निरन्तर रहिरहून् भन्ने अपेक्षा व्यक्त गरेको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रेग्मीले अध्यक्षता गर्नुभएको थियो भने वडा अध्यक्ष तुलसी रेग्मी प्रमुख अतिथी रहनुभएको थियो। सो अवसरमा तारा नमस्ते फाउन्डेसनका प्रतिनिधि लिलो र राजन पुडासैनी उपस्थित रहनुभएको थियो।
अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा ग्रामीण क्षेत्रमा शिक्षा र खेलकुद प्रवर्द्धनका लागि फाउन्डेसनले देखाएको निरन्तर समर्पणको प्रशंसा गरिएको थियो।











