गोरखा । गण्डकी गाउँपालिका–७ लामिडाँडास्थित चेपाङ समुदायलाई तारा नमस्ते फाउन्डेसनले धान र मकै पिस्ने मिल वितरण गरेको छ। उक्त मिल उपकरणहरू गण्डकी गाउँपालिका–७ का वडा अध्यक्ष तुलसी रेग्मी र तारा नमस्ते फाउन्डेसनका प्रतिनिधि लिलोले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
धान र मकै पिस्ने मिल ६० प्रतिशत तारा नमस्ते फाउन्डेसन र ४० प्रतिशत चेपाङ समूहको लगानीमा खरिद गरिएको हो।
फाउन्डेसनले चेपाङ समुदायको दैनिकी सहज बनाउन र कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउनका लागि मिल वितरण गरिएको बताएको छ। मिल प्राप्त भएपछि स्थानीयवासीहरूले अब धान र मकै पिस्न टाढा धाउन नपर्ने भन्दै खुशी व्यक्त गरेका छन्।
तारा नमस्ते फाउन्डेसनले वडा कार्यलयको समन्वयमा जिविको पार्जन भन्ने कार्यक्रम गरिरहेको छ । विषेश गरि चेपाङ समुदायलाई प्राथमिकतामा राखेर यश फाउन्डेसनले काम गरिरहेको छ । त्यस अन्तर्गत यश फाउन्डेसनले बाख्राको खोर निर्माण, बाख्रा वितरण, हरियो सागपात तथा पोषणका लागि करेसावारि निर्माण, विभिन्न फलफूलका बिरुवा वितरण र विभिन्न किसिमका तालिमहरु दिदैं आइरहेको छ ।









