काठमाडौँ । राष्ट्रियता, लोकतन्त्र र जनताका अधिकार खतरामा परेको भन्दै विप्लव‚ घनश्याम भुसाल र जनार्दन शर्माले एकजुट हुन आह्वान गरेका छन्।
नेकपा महासचिव विप्लव‚ एकीकृत समाजवादीका भुसाल महासचिव र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त रूपमा यस्तो आह्वान गरेका हुन्।
उनीहरूले आज संयुक्त विज्ञप्ति जारी गरेका छन्। देश असाधारण राजनीतिक अन्योलमा फसेका वेला सत्तासीन नेताहरू गैरजिम्मेवार बनेको उनीहरूले उल्लेख गरेका छन्। राजनीतिक दलहरू अक्षम भएकाले राज्य, राजनीति, दल र तिनका नेताहरू जनताबाट टाढिदै गएको पनि स्पष्ट पारिएको छ।
यसकै कारण ती दलहरूले गत भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको विध्वंसलाई थेग्न नसकेको उनीहरूले किटान गरेका छन्।
वर्तमान अवस्थामा राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका वेला पुराना राजनीतिक दल र तिनका नेताहरू सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चस्व बचाउन चाहेको उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ‚ ‘त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ।’
उनीहरूले राष्ट्रमाथि चौतर्फी सङ्कट आएका वेला प्रतिबद्ध कम्युनिष्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूलाई संवाद, छलफल र सहकार्यका लागि आह्वान गरिएको छ।










