
बनेपा । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउण्डेशनको तर्फबाट कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको छ । फाउण्डेशनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।
संस्थाले उपलब्ध गराएका सामग्रीमा एक हजार डिटोल साबुन, धुन मिल्ने कोरियन कालो मास्क एक हजार र २०० पत्ता साइनेक्सलगायतका सामग्री रहेको छ । समुदायस्तरमै सङ्क्रमण फैलिएपछि अहिले गाउँगाउँमा पालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षणका साथै रोकथाम नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । सो क्रममा गाउँपालिकालाई थप सहयोग गर्न संस्थाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको फाण्डेशनका प्रतिनिधि सागर जिम्बाले बताउनुभयो ।
यसैबीच नेकपा ९माओवादी केन्द्र० खानीखोला गाउँपालिका कमिटीबाट पनि गाउँपालिकाको लागि सर्जिकल मास्क, स्यानिटाइजर, किड्स, अक्सोमिटर, पिपिई सेट, ग्लोब्स, थर्मलगनलगायतका सामग्री खानीखोला गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । माओवादी केन्द्र प्रवास कमिटीमार्फत जिल्ला पार्टी कार्यालयमा प्राप्त स्वास्थ्य सामग्री पालिकालाई हस्तान्तरण गरिएको माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले बताउनुभयो । उपलब्ध सामग्री पालिकाले आवश्यकतानुसार वडाहरुमा वितरण गर्ने जनाएको छ ।
डाँडापारिको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका लागि आहाना नेपाल फाउण्डेशनको समन्वयमा मास्क र स्यानिटाइजरका साथै डेस्क, बेञ्च, अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री संस्थाका प्रतिनिधि अविरल जिम्बा र सागर जिम्बाको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
विद्यालयमा भएको पुरानो बेन्चले नपुगेर विद्यार्थी भुइँमा बसेर पढ्नुपरेको अवस्थामा संस्थाको समन्वयमा फ्रान्सका संस्था ‘संसारमा साझेदारी’ नामक संस्थाको आर्थिक सहयोगमा नयाँ डेस्क, बेन्चलगायत अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर पाएपछि विद्यालय परिवारमा ठूलो राहत मिलेको छ । एक वर्ष अगाडि पनि सो संस्थाले उक्त विद्यालयलका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको थियो ।