गोकर्ण विष्टको प्रश्न– पार्टी एकताको प्रयासलाई कसले र किन झूठो प्रचार गराउँदैछ ?

काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीभित्र भइरहेको एकताको प्रयासलाई झूठो प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

पार्टीलाई विभाजनबाट जोगाउन आफ्नो तहबाट भइरहेको प्रयासलाई विभिन्न सञ्चारमाध्यमहरूले भ्रमपूर्ण प्रचार गरेको भन्दै उनले कसले र किन झूठो प्रचार गरिँदैछ भनेर प्रश्न समेत गरेका छन् ।

‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्,’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् रु समयले नै बताउला ।’

पार्टी र जनसंगठनहरुका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काउनु पर्ने आफ्नो अडानमा यथावत रहेको स्पष्ट पार्दै विष्टले भनेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका बेला केही नेतालाई एमालेको संस्थापनपक्षतिर लागेको आरोप कार्यकर्ताबाटै लाग्न थालेको छ । संस्थापनपक्षले आह्वान गरेको वार्ताका प्रयासलाई समेत ती कार्यर्ताहरुले झूठो र झुक्याउने रणनीति भएको भन्दै समग्र एकताकै विरोध गरिरहेका छन् ।

यसले पार्टी एकतामा थप जटिलता थपिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको