
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाउनुभएको हो ।
आयोगलाई पठाइएको पत्रमा यादवले दलको दर्ता किताबबाट महन्थ ठाकुरको नाम हटाउन अनुरोध गर्नुभएको छ । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादव लगायतका नेताहरूमाथि निष्कासनको कारबाही गर्ने तयारी गरेको छ ।