
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गतिशील बन्दै गएको नेपालको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले थप चुनौती र जोखिम बढाइदिएको बताउनु भएको छ
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन शुकबार अर्थ मन्त्रालयमा सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएकोमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो ।
अर्थ मन्त्री पौडेलले कोरोनाको कारण आर्थिक बर्ष २०७६/०७७ मा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका सबै प्रदेशहरूको आर्थिक वृद्धि ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा सबै प्रदेशहरूको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षमा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा चालु आर्थिक वर्षमा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान गरिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्रहर््स्थ्य उत्पादन ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार १ सय पुगेको अनुमान गरिएको पनि उल्लेख गर्नुभयो ।
सरकारले प्रत्येक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो दिन चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन रहेको छ ।