कालिमाटी तरकारी बजार बन्द भएपछि धादिङमा उत्पादित तरकारी अलपत्र

धादिङ । धादिङमा उत्पादित हरियो तरकारीको मुख्य बजार कालीमाटी तरकाी बजारमा तरकारी बेच्न बन्द भएपछि तरकारी उत्पादक किसानहरु समस्यामा परेका छन ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तरकारी बजार बन्द भएपछि अहिले धादिङका किसानहरुले उत्पादन गरेको तरकारीको मुल्य नै नगरी तरकारी संकलन केन्द्रहरुमा छाड्न थालिएको छ ।

जिल्लामा उत्पादित तरकारीको मुख्य बजार काठमाण्डौं भएको र हाल कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले राजधानी लगायतका स्थानहरुमा निषेधाज्ञा लागु गरेसँगै धादिङबाट तरकारी विक्रिका लागि काठमाण्डौं लैजान पनि क्रमिक रुपमा घट्दै गएको थियो ।

धादिङ जिल्लामा उत्पादित पचहत्तर प्रतिशत तरकारी विक्री गर्ने मुख्य बजार नै काठमाण्डौंको कालीमाटी तरकारी बजार हो ।

अहिले कालीमाटी तरकारी बजार बन्द भएपछि किसानहरु झनै समस्यामा परेको गुनासो गर्छन ।

तरकारी संकलन गरी कालीमाटीलगाएत अन्य बजारमा लगेर विक्रि गरिदिने विक्रेताहरु भने सबै प्रकारको तरकारीको मुल्य प्रतिकिलो सातदेखि दश रुपैँया भएको बताउँछन ।

यसरी प्रतिकिलो तरकारीको मुल्य दश रुपैँयामा विक्रि गर्दा किसानहरुको उत्पादन मुल्य पनि नउठ्ने र विक्री गरिदिने विक्रेताहरुको गाडि भाडा तिर्न समेत नपुग्ने भएपछि अब तरकारी के गर्ने भन्ने चिन्तामा तरकारी संकलकहरु पनि परेका छन ।

संकलन केन्द्रहरुमा किसानहरुले तरकारी ल्याई त्यतिकै छाडिदिएको बताउदै विक्रि नभए तरकारीहरु सबै फाल्नु पर्ने अवस्था आएको शहकारी संञ्चालकहरुको भनाइ छ ।

गत वर्ष पनि तरकारी उत्पादनको मुख्य समयमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण यस्तै अवस्था आई घाटा बेहोरेका तरकारी उत्पादक किसानहरु यस वर्ष पनि घाटा बेहोर्नु परेको गुनासो गर्छन ।

अब पोखरा र चितवन जाने तरकारी पनि बन्द भएपछि झनै समस्या आउने उनीहरुको भनाइ छ ।

दैनिक काठमाण्डौँको कालीमाटी तरकारी बजारमा मात्र धादिङ जिल्लाका एक दर्जन भन्दा धेरै तरकारी संकलन गर्ने शहकारीहरुले एक सय चालिस टन तरकारी पठाउने गरेको तथ्याङ्कक छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको