
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका दुई विमानस्थल वर्षौंदेखि प्रयोग बिहीन बनेको छ । नेपालको सबैभन्दा बढी पाँच वटा विमानस्थल भएको जिल्लामा दुई वटा मात्रै विमानस्थल सञ्चालनमा छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको छ ।
जिल्लाको तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी बनाइएको काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब सात वर्षदेखि गौचरणका रुपमा प्रयोग हुदँै आएको छ । नेचासल्यान, थुलुङदूधकोशी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका नागरिकलाई सहजताका लागि कागेलडाडाँमा करोडौँको लगानीमा विमानस्थल निर्माण गरिएको थियो ।
अहिले विमानस्थल रेखदेखका लागि नागरिक उड्डययन प्राधिकरणले एक सुरक्षाकर्मी भने खटाइरहेको छ । संघीय सरकार मातहत रहेको विमानस्थल प्रदेश सरकार मातहत ल्याई काँगेल–विराटनगर उडान गराउने भनिए पनि समयमै काम गर्न नसक्दा उडान सुरु गर्न नसकिएको प्रदेश सांसद उत्तमकमुमार बस्नेतले बताउनुभयो ।
काँगेलडाँडा विमानस्थलसम्म आउनका लागि गाउँगाउँमा सडक विस्तार सकिएको, दूधकोशी र सोलुखोला लगायतका मुख्य नदी खोलामा मोटरेबल पुल निर्माण थालिएकाले चाँडै उडान सुचारु गराउन पहल गरिरहेको उहाँको भनाइ छ ।
त्यस्तै, सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा पर्ने नेपालकै अग्लो स्थानको स्याङबोचे विमानस्थलमा पनि विगत १२ वर्षदेखि हवाई उडान बन्द भएको छ । करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण हुन सकेको छैन ।


गौचरणमा परिणत भएको काँगेलडाँडा विमानस्थल
अहिले त्यस विमानस्थललाई हेलिकप्टरले सामान ढुवानीको लागि प्रयोग गर्दे आएको छ । खुम्बु क्षेत्रमा आवश्यक खाद्यान्नलगायत अन्य सामाग्री हेलिकप्टर मार्फत विमानस्थलमा झारिने भएपनि हवाई उडान ठप्प हुँदा स्थानीय यात्रुहरुले आवतजावत गर्न हेलिकप्टरमा महङ्गो भाडा तिर्नु परेको छ । सामानको भाउमा भाडा तिरेर यात्रु आवतजावत गर्दछन् ।
स्याङबोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा हुने उडानको चाप समेत घट्ने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार सात मिटर उचाइमा रहेको यो विमानस्थलमा स्थानीयले विमानस्थल सुचारु गर्न पटक–पटक माग गरे पनि उडान हुन सकेको छैन ।
सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने जग्गामा धावनमार्गलाई लम्ब्याएर सञ्चालन गर्न सके खुम्बु क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने खुम्जुङका पासाङछिरिङ शेर्पाको भनाइ छ । फाप्लु विमानस्थल र लुक्लाको तेन्जीङ हिलारी विमानस्थल भने सञ्चालनमा छन् भने महाकुलुङ विमानस्थल निर्माणका क्रममा रहेको छ ।