सौराहामा हात्तीलाई वनभोज खुवाएर मनाइयो १५ औँ विश्व हात्ती दिवस

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा हात्तीलाई वनभोज खुवाएर १५औँ विश्व हात्ती दिवस मनाइएको छ ।

हात्तीको संरक्षण, उचित व्यवस्थापन तथा मानव–हात्ती सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बुधबार बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा विशेष कार्यक्रम आयोजना गरेको हो ।

बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईँकटहर, फर्सीलगायत फलफूल तथा तरकारी खुवाइएको थियो । कार्यक्रममा सरकारी तथा निजी गरी करिब ५६ वटा हात्ती सहभागी थिए ।

सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ । हात्ती सफारीले चितवनको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती रहेका छन् भने सौराहामा मात्रै ४५ वटा हात्ती रहेको तथ्यांक छ । नेपालभर सरकारी तथा निजी गरी करिब १८५ वटा हात्ती रहेको बताइएको छ ।

हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन तथा चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन् ।

तर निजी हात्तीलाई निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने व्यवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूले बताएका छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीका लागि निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उमेर पुगेका तथा काम गर्न नसक्ने हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण आवश्यक रहेको उनले बताए । सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले हात्तीबिनाको चितवन राष्ट्रिय निकुञ्जको संरक्षण कल्पना गर्न नसकिने बताए । उनका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दीगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको