
काठमाडौं । धुर्मुस अर्थात सीताराम कट्टेल र कुञ्जना घिमिरे, अर्थात् मेरी बास्सै टेलिसिरियलकी सुन्तली । दुवैजना नायक नायिका बनेर चलचित्र निर्माण गरेका छन् । धुर्मुसकी जोडी सुन्तली नायिका भएको चलचित्र ‘सेन्टी भाइरस’ ९ फागुनबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्र ‘सेन्टी भाइरस’ बाट सुन्तली पहिलो पटक सिल्भर स्क्रिनमा देखिँदैछिन् । बाल्यकालदेखि नायिका बन्ने सपना देखेपनि उनी टेलिसिरियलमा सिमित भइन् । अब भने उनको सपना साकार भएको छ । सेन्टी भाइरसमा सुन्तली धुर्मुसकी जोडीकै रुपमा देखिएकी छिन् । धुर्मुस फिल्मका नायक हुन् । जन स्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि सो फिल्म बनाइएको हो । धुर्मुस र सुन्तली सो रंगशाला निर्माणका अभियान्ता हुन् ।
फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । फिल्मले राजनीतिक विषयवस्तु र पारिवारिक कलहलाई देखाएको छ । रामबाबु गुरुङको निर्देशनमा फिल्म बनेको हो ।