 
											
							काठमाडौं । दसैँअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्। तिहारको छेकोमा अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक प्रस्तुति दिनेछन्।
गतसाता शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुंगिनेछ। ‘यही शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु’, गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ।’
यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनेछन्। उसो त देशविदेशका सांगीतिक कार्यक्रममा उनको दौडधुप गत वर्षदेखि नै बढेको हो।
गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्यै’ गीतको सफलताले आफ्नो सांगीतिक ‘करियर’ लाई नै नयाँ मोड दिन पुगेको गायक थापाले बताउँछन्। उक्त गीत युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको छ। गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमासमेत परेको थियो।
गीतको सफलताले भावुकसँगै खुसी भएका गायक थापाले त्यो बेला भनेका थिए, ‘भगवानरूपी दर्शक र स्रोताले दिनुभएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पूरा भएको क्षण हो।’
‘दुश्मन हेरेको हेरै’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको पनि स्वर छ। थापाले आफ्नै शब्द, संगीत र संगीत संयोजनमा उक्त गीत तयार पारेका हुन्। गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियंका कार्की, कविता नेपाली, पेमा लामालगायतको अभियन छ।
गीतमा आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताए। ‘यो मेरो करियरकै एउटा मानक गीतका रूपमा रहनेछ’, उनले भने। थापाको पछिल्लो गीत ‘जाने भए जाममाया’ पनि गीत चर्चित छ।
‘दुश्मन हेरैको हेरै’ गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ’, गायक थापाले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यस्तताका कारण समय दिन सकिरहेको छैन।’
अमेरिकापछि क्यानाडा र युरोपको सांगीतिक यात्रा तय हुन लागेको उनले सुनाए। यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उनले बताए।
पछिल्लो समय देशविदेशका सांगीतिक कार्यक्रम र मेला-महोत्सवमा उनको माग बढेको छ। गत वर्ष हिउँदमा उनलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो। गत वर्षकै फागुनमा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिएका थिए। ‘सधैँ म यो स्थानमा रहन सक्दिनँ, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ’, उनले भने, ‘तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु।’
सयौं गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ लगायत थुप्रै गीत चर्चित छ। थापाले पछिल्लो समय फिल्मका गीतमा पनि स्वर तथा संगीत दिएका छन्। आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन्।
‘डाँडै बिसौनी’, ‘जूनले मात्र देख्छ’, ‘हाँस्न सिकायौँ’ लगायत उनी अभिनित चर्चित लोकदाहोरी गीत हुन्। पहिलोपटक दीपक/दीपाको फिल्म ‘छ माया छपक्कै’ मा प्रोमोसनल गीत गाएका थापाले फिल्म ‘ह्रस्व दीर्घ’ मा गाएको ‘उठेर नाचिस्यो’ गीत पनि चर्चित बनेको थियो। ‘रंगी’ फिल्मको ‘छ भने माया हाइ भन’ गीतको संगीत र शब्द पनि उनले रचना गरेका हुन्।
उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन्। थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’ का रूपमा आफूलाई चिनाउन चाहान्छन्। करियरको सुरुवाती समयमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र संगीतमा पोख्त छन्।
विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्म समीक्षासहित अगाडि बढेको बताए। १९ वर्षको सिर्जना कर्ममा मिठा/नमिठा क्षणहरू गुजारेका उनी अहिले युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय छन्।
२०६५ सालमा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए। पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो’ गाएका थिए।
बागलुङको गलकोट नगरपालिका-७ मल्मका थापा २०६३ सालमा काठमाडौँ प्रवेश गर्दा एउटा सपना थियो, मोडल बन्ने। समय क्रममा उनी अभिनय हुँदै गायनतिर लागे। गायक तथा सर्जक वसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी पसेका थापाको एक अपरिचित सहरमा संघर्ष सुरु भएको थियो। काठमाडौँ जस्तो सपनाको सहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन्। बाधाहरू पार गर्दैै उनी आफ्नो सत्मार्गमा लागेका छन्।।
‘अग्रज कलाकार, मेरो आदरणीय दाइ वसन्त थापासँग म पहिलो पटक काठमाडौँ आएको हुँ, कलाकारितामा मलाई ताते ताते गराउनुभएको उहाँले नै हो’, दुर्गेशले भने, ‘एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु।’


 
								


 
										 
										 
												 
												 
												 
												 
												 
												




 
											 
											 
											 
								 
								 
								 
								