
काठमाडौं । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर उदघाटन गर्नुुभएको छ ।
त्यस अवसरमा दुई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाईनको प्रारम्भबाट नेपाल र भारतबीचको सम्बन्धमा अझै सकारात्मक प्रभाव परेको र यो दुई देशबीचको सम्बन्धको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जलमार्ग र पर्यटन लगायतका अन्य परियोजनालाई पनि संयुक्त रुपमा अघि बढाईने विश्वास व्यक्त गर्नुभयो ।
पेट्रोलियम पाइपलाइन समयमै सम्पन्न गर्न भारत सरकारबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्री ओलीले धन्यबाद पनि व्यक्त गर्नुभयो ।
यसैगरी भारतका प्रधानमन्त्री मोदीले यस प्रकारको संयुक्त प्रयासबाट द्धिपक्षीय परियोजनाहरुमा प्रगति हुँदै जाने र यसबाट दुई देशका जनता लाभान्वित भएको बताउनुभयो ।
पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै प्रेट्रोलियम पदार्थको मूल्य घट्यो
यसैबीच दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको रुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै नेपालमा प्रेटोलियम पदार्थको मूल्यमा दुइृ रुपैया घटाइएको छ ।
पाइपलाईनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नु अघि नेपालमा प्रेटोलियम पदार्थको मूल्यमा दुर्इ रुपैया घटाइएको हो ।
डिजेल, मट्टीतेल र प्रेट्रोलमा दुई रुपैया मूलय घटाउने निर्णय भएको आयल निगमका कार्यकारी निर्र्देशक सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।