काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह बिहान ९:३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्।
निरीक्षण टोलीमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रियता बढाएका छन्। बाढीलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन्।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन्। भ्रमणका क्रममा उनले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने बताइएको छ।









