चितवनको रत्ननगरमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु

चितवन  । रत्ननगर-१२ मा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा त्यहाँ कार्यरत ३ जना मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई तत्कालै भरतपुरको नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा ३ जनाको मृत्यु भएको र २ जना घाइतेको उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी सुवास भट्टले जानकारी दिए।

डीएसपी भट्टका अनुसार, बुधबार बिहान करिब १० बजे उक्त उद्योगको पर्खाल भत्किँदा मजदुरहरू भत्किएको पर्खालमुनि पुरिएका थिए। मृत्यु हुनेमा खैरहनी-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर-१२ मा बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर-१२ कै ४५ वर्षीय कमल गुरुङ रहेका छन्। यस्तै, घाइते हुनेमा पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ४० वर्षीय अंकजप्रसाद थारु रहेका छन्।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उद्योगको पुरानो संरचना वा अन्य प्राविधिक समस्याले यस्तो भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतक र घाइतेका परिवारजनलाई सम्पर्क गरी आवश्यक सहयोगको व्यवस्था गर्ने तयारी भइरहेको डीएसपी भट्टले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको