चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुईन खोला नजिकै पहिरो जाँदा सवारी आवागमन दुवै तर्फ अवरुद्ध भएको छ।
आज बिहान करिब ४ बजेको समयमा माथिबाट खसेको ठूलो ढुंगा तथा माटोसहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध बनेको हो। सडक खुलाउने कार्यका लागि डिभिजन सडक कार्यालयबाट मेशिन र प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरीले सडक पुनः सञ्चालनमा ल्याइन करिब २–३ घण्टा लाग्ने बताएको छ ।
वर्षायामको कारण पहिरोको जोखिम अत्यधिक हुने यस क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। अनावश्यक यात्रा नगर्न र आवश्यक परेको खण्डमा मात्र पहिरोको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न अनुरोध गरिएको छ।









