काठमाडौँ । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनको लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा इलेक्ट्रिक डिभाईस इन्टरनेट अफ थिन्ग्स ९आइओटी०जडान गरिएको छ ।
बढी दुर्घटना हुनसक्ने स्थान छनौट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाईस जडान गरिएको हो ।
दुर्घटना भईहालेमा उक्त डिभाईसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।
कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि उक्त स्थानमा रहेका स्थानीय वासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाईसमा रहेको हरियो वटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, वटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साईरन बज्नेछ भने मोनिटरमा लोकेशनसहितको जानकारी समेत हेर्न सकिने छ । यसरी घटनाबारे साईरन बजेर दुर्घटना स्थानकाबारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुनेछ ।
सो डिभाईसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय वासिन्दाहरुलाई जानकारी गराउनुकोसाथै प्रशिक्षण समेत दिएको छ ।
त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय वासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका व्यक्ति र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोवाईलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् । एप्सभित्र रहेको एसओएस ९एसओएस० वटनमा क्लिक गर्दा त्यसभित्र रहेको चारवटा अप्सन एम्बुलेन्स, बाढि पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरु देखिने छ, त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ । सो एप्सलाई डाउनलोड गरी अफलाईनमा समेत जानकारी गराउन सकिनेछ ।
नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोवाईल एप्सले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारको लागि सहजताका साथै आम नागरिकहरुको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको छ ।









