चितवन । चितवनमा सडक दुर्घटनाको संख्या ह्वात्तै बढेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक हजार ५० वटा साना ठूला गाडी दुर्घटना भएका छन् । दुर्घटनामा १२० जनाको मृत्यु भएको छ भने १७२ जना गम्भीर घाइते भएका छन् । १७०५ जना सामान्य घाइते भएको तथ्यांक छ ।
गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना शतप्रतिशत बढेको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा ४४५ गाडी दुर्घटना हुँदा ११५ जनाको मृत्यु भएको थियो भने १५० जना सख्त र ६८२ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०७९र०८० मा जम्मा ३०३ सवारी दुर्घटना ७८ जनाको मृत्यु भएको थियो । त्यसयता भने हरेक वर्ष सवारी दुर्घटना र मृत्युदर बढ्दै गएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना पुसमा १४१ र चैतमा १३४ वटा भएका छन् । सो वर्षको साउनमा १०, भदौमा ५, असोजमा १३, कात्तिकमा १८, मंसिरमा १०, पुसमा ८, माघमा ७, फागुनमा १०, चैत्रमा ८, वैशाखमा १०, जेठमा ४, असारमा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढ्नुका पछाडि धेरै जसो निर्माणाधीन सडकहरुले पूर्णता पाएको तथा चिल्लो सडक हुँदा सवारीको गति बढेर दुर्घटनाको संख्या थपिएको बताए ।
मापसे गरेर सवारी चलाउने संख्या पनि बढ्दा दुर्घटनाको संख्या थपिएको हुन सक्ने उनको अनुमान छ । अर्कोतिर, भित्रि सडकहरुसमेत पिच भएका, सवारीहरु साधानमा सबैको पहुँच हुँदा दुर्घटनाका घटना बढेको उनको भनाइ छ ।
सबैभन्दा बढी दुर्घटना भित्री सडकमा
गत आर्थिक वर्षमा भित्री सडकमा भएका ५७७ वटा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा २५० वटा सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो भने ३८२ जना घाइते भएका छन् ।
यस्तैं, गत आवमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएका २५५ दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा ९६ वटा सवारी दुर्घटना हुँदा २६ जना रहेको थियो ।
नारायणगढ मुग्लिन सडकखण्डमा गत वर्ष १०४ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष सोही सडकखण्डमा ५५ दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो ।
पृथ्वी राजमार्गमा ९मुग्लिनदेखि फिस्लिङसम्म० मा गत वर्ष २८ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष १८ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
सहरी सडकखण्डमा गत आर्थिक बर्षमा ८६ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष सोही सडकखण्डमा २६ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको तथ्यांक छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार चितवनमा प्रहरीले ५ खण्ड गरेर सवारी दुर्घटनाको तथ्यांकको विश्लेषण गर्ने गरेको छ ।
पूर्वपश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग, शहरी सडक र अन्य भित्री सडक भनेर दुर्घटनाको प्रकृति, संख्या कारणको हेर्ने गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख शर्माले बताए । हरेक वर्ष राजमार्गमा भन्दा पनि बढि सवारी दुर्घटना भित्रि सडकमा हुने गरेको देखिएको छ ।
राष्ट्रिय राजमार्गभन्दा पनि बढी दुर्घटना र मृत्यु तथा घाइते भित्री सडकमा हुने गरेको ट्राफिक प्रहरी प्रमुख शर्मा बताउँछन् । ‘यो निकै चुनौतीपूर्ण बनेको छ, राजमार्गमा सवारी चलाउँदा सचेत बन्ने तर भित्रि सडकहरुमा सवारी चलाउँदा लापरबाही गर्ने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने आदि कारणले दुर्घटना बढेका छन्’, शर्मा भन्छन्, ‘कतिपयले भरखरै(भरखरै सिकेर पनि भित्रि सडकमा चलाउँदा दुर्घटना हुने गरेको छ ।’
विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा भित्रि सडकमा हुने दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या अन्य सडकखण्डमा भन्दा बढी देखिएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश पुरूष छन् । गत वर्ष दुर्घटनामा मृत्यु हुने १२० जनामध्ये ९६ जना पुरुष, २१ जना महिला र ३ जना बालबालिका छन् । २० देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कले देखाउँछ ।









