कालिकामा सडक सुरक्षा सम्बन्धि अन्तरक्रिया

चितवन । सामुदायिक सडक सुरक्षा मञ्च, कालिकाको आयोजना एवम् सेफट्रिप नेपालको सहयोगमा सडक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम कालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

सामुदायिक सडक सुरक्षा मञ्च कालिकाका अध्यक्ष रवि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सडक दुर्घटना विश्वको टाउको दुखाइको विषय बन्दै गएको बताए ।

कालिका नगरपालिका सडक सुरक्षाका दृष्टिले थप जोखिममा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि डा। रामहरि सुवेदीको पहलमा कालिका वडा नं–४ बाट स्टप साइन, जिपिएस सिस्टम र हाउस नम्बरिङजस्ता प्रविधिको थालनी गरिएको जानकारी दिए ।

उनले आधारभूत तहको पाठ्यक्रममा ट्राफिक सचेतनासम्बन्धी सामग्री समेटिएको र आगामी दिनमा कक्षा ९ र १० को पाठ्यक्रममा सडक सुरक्षासम्बन्धी विषय समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि चितवनका सातवटै पालिकासँग अन्तक्र्रिया गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । उनले संघीय र प्रदेश सरकारसँग कानुन नबाझिने गरी दीर्घकालीन प्रभाव पार्ने किसिमले छिमेकी रत्ननगर नगरपालिकासँग सहकार्य गरेर कार्यविधि पारित गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सेफट्रिप नेपालका व्यवस्थापक पुष्पराज भट्ट, प्रेरिता जोशी, कुष्ठरोग महाशाखा प्रमुख डा। रवीन्द्र सापकोटा, कालिका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजेश कोइराला, नगरप्रवक्ता कालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेल र कालिका–६ का वडाध्यक्ष टीकाराम रेग्मीले आआफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा सेफट्रिप नेपालका केन्द्रीय संयोजक वरिष्ठ सडक इन्जिनियर सुवास ढुङ्गेलले निर्माणाधीन कार्यविधिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै विभिन्न मापदण्डको आधारमा नमुनाका रुपमा देशभर आठ पालिकालाई छनोट गरिएको र त्यसमध्ये चितवनमा रत्ननगर नगरपालिका र कालिका नगरपालिका रहेको उल्लेख गरे ।

सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य मेनुका थापाले स्वागत तथा सचिव एवम् कार्यपालिका सदस्य जोति सुनारले सञ्चालन गरेको कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको