चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो ।
सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् । उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।
घटनामा भारत आग्रह बस्ने ४२ वर्षीय कार चालक रतेन्द्र यादव बायाँ हातमा चोटपटक लागेर सामान्य घाइते भएका छन्। त्यस्तै, ३३ वर्षीय हर्मोन यादव ढाडमा चोट लागेर मध्यम घाइते र ३५ वर्षीय हितेन्द्र यादव हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि तत्काल स्थानीय मेडिकल मुग्लिङ पठाइएको छ। घटनाबाट कारमा क्षति पुगेको र कार घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। हाल बाटो अवरुद्ध नभएको र कार हटाउन पहल भइरहेको छ।
इप्रका मुग्लिङका प्रहरी निरीक्षक द्वारिका खवासको कमाण्डमा ट्राफिक टोली घटनास्थलमा परिचालन गरिएको थियो ।









