अमेरिकामा‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयमा  छलफल, मेयर रेग्मीद्वारा विकासमा साझेदार बन्न आव्हान

चितवन । अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा नेपालमा स्थानीय सरकार र विकासको मोडलबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गोष्ठीमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमले प्रवासी नेपाली समुदायमा नेपालमा भइरहेको स्थानीय विकासप्रति चासो र सहकार्यको वातावरण निर्माण गरेको मेयर रेग्मीले बताउनुभयो । कार्यक्रममा ‘स्मार्ट ठेगाना प्रणाली’ विकासको लागी कालिका नगरपालिकामा हालै सुरू गरिएको योजनाको प्रस्तुतीकरण गरिएको थियो। नेपालमा पहिलोपटक अमेरिकाको राजधानी वाशिङ्टन डीसीको जस्तै सडक नामकरण र घर नम्बर प्रणाली चितवनको कालिका नगरपालिकाको पदमपुर क्षेत्रबाट सुरु गरिएको उल्लेख गर्दै अमेरिका निवासी आईटी तथा साइबर सेक्युरिटी विज्ञ डा रामहरी सुवेदीले विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले हालसम्मको प्रगति र आगामी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्राध्यापक डा विष्णु घिमिरेले २१औँ शताब्दीको स्थानीय विकास प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै, शहरमुखी नगरपालिकाहरुले प्रविधिको अधिकतम प्रयोग गरी आफूलाई नमुना नगरको रूपमा स्थापित गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख वक्ता मेयर विनोद रेग्मीले कालिका नगरपालिकामा हाल सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली केवल एक योजना नभएर भविष्यको परिकल्पना भएको बताउनुभयो । उहाँले जीपीएस प्रणालीमार्फत नगरको नक्सांकन, सडक रेखांकन र नामकरण, मुख्य चोकहरूमा दिशा–निर्देश बोर्ड जडान, घरहरूमा नामांकन (नम्बरिङ) लगायतका कार्यहरू थालिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “यो अभियानलाई ‘स्मार्ट प्रशासन, सुशासन र पारदर्शिता’ मा रूपान्तरण गर्ने दीर्घकालीन दृष्टिकोण रहेको छ ।”

उहाँले स्थानीय सरकारको भूमिका अब सीमित पूर्वाधार निर्माणमा मात्र सीमित नरही, प्रविधि, नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकतामा राख्दै नागरिकसँगको सम्बन्ध अझ नजिक बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले उहाँले प्रवासी नेपालीहरूलाई पनि ज्ञान, अनुभव र स्रोतको साझेदारीमार्फत आफ्नो नगरपालिका र देशको विकासमा योगदान पुर्‍याउन आह्वान गर्नुभयो ।

कार्यक्रममा एनआरएनए एनसीसी युएसए भिए च्याप्टर अध्यक्ष विशाल कार्की, पूर्व अध्यक्ष कृष्ण सादगी भण्डारी, डा श्याम थापा, डा देशराज संयोग, डा योगेन्द्र पनेरु लगायतका विशिष्ट व्यक्तिहरूले आ–आफ्नो धारणा राख्दै कालिकाको यो पहलप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँहरुले प्रविधिमैत्री विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अमेरिकामा आयोजना गरिएको ‘मिट एण्ड ग्रिट विथ मेयर रेग्मी’ शीर्षकको कार्यक्रमले नेपालमा स्थानीय सरकारको क्षमता, प्रविधिको प्रयोग र प्रवासी समुदायको भूमिका बारे सकारात्मक बहस सिर्जना गरेको सहभागीहरूले बताएका थिए ।

केही दिनदेखि मेयर रेग्मी अमेरिकाका विभिन्न राज्यको भ्रमणमा रहनु भएको छ । यस अवसरमा त्यहाँको विकास, प्रविधि, सीप र अनुभवबारेमा छलफल र भेटघाट गरिरहनु भएको छ । उहाँको अमेरिका भ्रमणले कालिकाको विकासमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको