कालिका नगरपालिकाको सार्वजनिक सुनुवाइ, विकास, सेवा र सुरक्षामा काम गर्न सुझाव

चितवन । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले विकास निर्माण, सेवा प्रवाह, सुरक्षालगायतका सवालमा काम गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।
नगरपालिकाले एक वर्षभित्र सम्पादन गरिएका कार्यहरुको विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले आर्थिक वर्ष २०८१/०८२ मा ९२ करोड ९७ लाख ९४ हजार रुपैयाँ खर्च अनुमान गरिएकोमा ७१ करोड ३४ लाख २५ हजार ८५७ रुपैयाँ अर्थात् ७६ दशमलव ७३ प्रतिशत खर्च भएको जानकारी दिए । चालूतर्फ ४२ करोड ९३ लाख ४९ हजार ९६० रुपैयाँ अर्थात् ८६ दशमलव ६१ प्रतिशत र पुँजीगततर्फ २८ करोड ४० लाख ७५ हजार ८९६ अर्थात् ६५ दशमलव ४४ प्रतिशत खर्च भएको उनले बताए ।

उनले कालिका नगरअस्पतालबाट विशेषज्ञ सेवासहित प्रयोगशाला स्तरोन्नति गरिएको, पाँच सय जनालाई स्वरोजगार तालिम सञ्चालन गरिएको, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा अधूरा तथा पहुँच नपुगेका स्थानहरुमा लाइन विस्तार गरिएको बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा १८ वटा योजनाको बोलपत्र आह्वान् गरी काम गरिएकोमा १७ वटा योजना सम्पन्न भइसकेको उनले बताए । उनले आर्थिक वर्ष २०८२/०८३ देखि घरघरबाट फोहोर सङ्कलन गर्ने योजना रहेको सुनाए । उनले नगरपालिकाको विषयगत शाखाहरुको प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कालिका–६ का नरराज धितालले नगरमा कुकुरको बिगबिगी रहेकाले नियन्त्रण गर्न सुझाव दिए । यस्तै अस्थायी साधनको प्रयोग बढाउँदै गर्भपतन सेवा बन्द गर्नुपर्ने बताए ।
कालिका–६ कै हरि भण्डारीले नगर प्रहरीको परिचालन गर्न, आवश्यकताअनुसार कर्मचारीको व्यवस्थापन गर्न, खेल मैदान निर्माण गर्न, आधुनिक पुस्तकालयको स्थापना गर्न, विद्यालयमा भवन निर्माणभन्दा शिक्षामा लगानी गरी उत्कृष्ट नतिजा ल्याउने गरी काम गर्न सुझाव दिए ।

यस्तै, कालिका–६ का ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक भीमप्रसाद खनालले कालिका अस्पतालको सेवा प्रभावकारी नभएको, ज्येष्ठ नागरिकहरुलाई असहज हुने गरेको र अस्पतालको टिकट एक सातासम्म हुनेगरी व्यवस्थापन गर्न माग गरे ।

यस्तै, कालिका–७ का रामबहादुर बोहराले मनकामना टोलमा नालासहितको सडक पिच निर्माण गर्न र पूर्वाधार निर्माण गर्दा भेगीय हिसाबले पक्षपात नगर्न सुझाव दिए । उनले कालिकामा मानवअधिकार कार्यालय स्थापना गर्नसमेत जोड दिए ।
यस्तै, टेकबहादुर बस्नेत, काजीमान मोक्तान, नरेश तिवारी, मुरली परियार, कृष्णप्रसाद घिमिरेलगायतले विद्युत्को भोल्टेज सुधार गरी ट्रान्सफर्मर जडान गर्नुपर्ने, फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने, मास लाइट बिग्रिएकाले समयमै मर्मत गर्नुपर्ने, चोक–चोकमा सिसी क्यामेरा जडान गर्नुपर्ने, सुरक्षाका लागि नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त चेक प्वाइन्ट र बिट स्थापना गर्नुपर्ने, पुराना विद्युत्का पोल विस्थापित गर्नुपर्ने र कालिका नगरअस्पतालको प्रयोगशालाका सामग्रीलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी, नागरिक सरोकारका विषयमा गम्भीर भएर काम गर्न कालिका–३ का रास्वपाका सभापति हिरामणि पोखरेलले सुझाव दिएका थिए । कार्यक्रममा जवाफदेही वक्ताका रुपमा कालिका नगरअस्पतालका मेसु बालरोग विशेषज्ञ डा. जीवन खरेलले २४ घन्टापछि पुनः टिकट लिनुपर्ने स्वास्थ्य बिमा बोर्डको बाध्यकारी नीतिका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको बताए । उनले आगामी दिनमा ओपिडी बुकलेट बनाएर सात दिनसम्मको एउटै रेकर्ड हुनेगरी तयारी गर्न लागेको जानकारी दिए ।
यस्तै, प्रशासन शाखा प्रमुख रामप्रसाद अधिकारीले भूमि आयोगसँग सम्बन्धित कार्यप्रगतिको बारेमा जानकारी दिँदै अव्यवस्थित बसोवासी तथा सुकुमबासीका ४०० परिवारलाई आगामी आर्थिक वर्षमा लालपुर्जा वितरण गर्नेगरी वडा नं–१ देखि ८ सम्म काम सुरू भइरहेको जानकारी दिए ।

कार्यबाहक नगरप्रमुख विमला तामाङले भोजाङ–खगेरी सडक मेयर, नगरपालिकाको निरन्तर प्रयास र सहकार्यबाट सम्पन्न भएको प्रष्ट पार्दै यसमा रास्वपाले अनावश्यक राजनीति गरेको गुनासो गरिन् । उनले नगरको फोहोर व्यवस्थापन यसै वर्षदेखि सुरू गर्ने र ठकेदार पक्षबाट हस्तान्तरण हुनासाथ कालिका नगरपालिकामा निर्मित नयाँ भवनबाट सेवा प्रवाह थालनी हुने जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले ठेकेदार पक्षको धरौटी कट्टा हुनेगरी मास लाइट मर्मतको प्रक्रिया अगाडि बढेको बताए । नगरप्रवक्ता एवम् कालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्तान र कालिका–७ का वडाध्यक्ष कमलराज मोक्तानले जवगाफदेही वक्ताका रुपमा सहभागीले राखेका सवालको जवाफ दिएका थिए ।

कार्यक्रममा कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङ, कालिका–४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराई, कालिका–६ का वडाध्यक्ष टीकाराम रेग्मी, कालिका–८ का वडाध्यक्ष चित्रबहादुर मगर, कालिका–९ का वडाध्यक्ष नीलकण्ठ मगर, कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजा, कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखलगायत नगरवासीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको