
चितवन । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले सोमबार कालिका नगरपालिका वडा नं ९ शक्तिखोरका अतिविपन्न १९५ घरधुरीलाई निःशुल्क मिटर, तार र एमसीवी वितरण गरेको छ ।
आर्थिक अभावका कारण मिटर जडान गर्न नसक्ने बर्गको पहिचान गरी निःशुल्क मिटर, तार र एमसीवी वितरण गरिएको केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जानकारी दिए । कालिका नगरपालिका र राप्ती नगरपालिकाका २ हजार ४९७ घरघुरीमा निःशुल्क मिटर गर्ने योजना रहेको छ ।
केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरका मेयर विनोद रेग्मी, नेपाल विद्युत प्राधिकरण बागमती प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, बागमती प्रदेश डिभिजन कार्यालय हेटौडाका प्रमुख जितेन्द्र झा, भरतपुर वितरण केन्द्रका प्रमुख नरेन्द्रविर श्रेष्ठले मिटर हस्तान्तरण गरेका थिए ।
टाँडी वितरण केन्द्रले कालिका नगरपालिका पहाडी क्षेत्र अन्तर्गत पर्ने वडा नं ९ का १९५ सहित वडा नं १० का १०२, वडा नं ११ का २०० घरधुरीलाई मिटर वितरण गर्ने छ । त्यसैगरी राप्ती नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं १० का ४००, वडा नं ११ का २५०, वडा नं १२ का ७०० र वडा नं १३ का ६५० घरघुरीलाई मिटर वितरण गरिने टाँडी वितरण केन्द्रका प्रमुख चौधरीले बताए ।
कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख तिवारीले पूर्ण विद्युतीकरणको कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको बताए । आर्थिक अभावका करण मिटर जडान गर्न नसक्नेलाई निःशुल्क मिटर दिने, पोल र तार नभएको ठाउँमा व्यवस्था गर्ने कार्यलाई तीब्रता दिइएको उनको भनाई छ ।
कालिकाका मेयर रेग्मीले कालिकालाई पूर्णविद्युतीकरणमा सहयोग गर्ने प्राधिकरणका अधिकृतहरुलाई धन्यवाद दिँदै चेपाङ समुदायको अल्छीपनालाई हटाएर आयआर्जनमा जोड्ने स्थानीय सरकारको योजना रहेको बताए । वडा नं ९ का वडाध्यक्ष निलकण्ठ मगरले १९५ घरधुरीलाई मिटर दिँदापनि अझै १३० घरघुरी अध्यारोमै बस्नुपर्ने बताए । पोल पुग्यो तर तार हालिएको छैन् उनले भने यसलाई पूर्णता दिन आवश्यक छ ।
कार्यक्रममा बागमती प्रदेश डिभिजन कार्यालय हेटौडाका प्रमुख जितेन्द्र झा, सामाजिक अभियान्ता इश्वरचन्द्र पौडेल, स्थानीय विश्व चेपाङ लगायतले मन्तव्य राखेका थिए । वितरण केन्द्रकी कर्मचारी देवी कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा इन्जिनियरहरु कृष्ण कँडेल, प्रदिप पौडेल, लेखा प्रमुख हरिबाबु लोप्चन, प्रशासन प्रमुख मुक्तिकुमारी भट्टराई, सुपरभाइजरहरु विष्णु नेपाल र रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो । वितरण केन्द्रका प्रमुख चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।