कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा दिइएको छ ।

खैरहनी स्थित लोकसेवा सारथी प्रा।लि।को सहजीकरण कालिका नगरपालिकाले आयोजना गरेको ७० दिने लोकसेवा तयारी कक्षा विहीबार समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मीले कालिकाबासी युवाहरुलाई सरकारी सेवा प्रवेशको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए ।

कालिकाका युवाहरु निजामती सेवाको माथिल्लो पदहरुमा पुगेको हेर्ने आफुलाई रहर रहेको भन्दै त्यसको अबसरको लागि लोकसेवा तयारी कक्षा सहयोगी सिद्ध हुने बताए । बैदेशिक रोजगारीको मोहले गाउँ र बस्तीहरुमा युवाहरुको संख्या पातलिदै गएको भन्दै मेयर रेग्मीले सरकारी जागिर खाएर देशको सेवामा लाग्न आग्रह गरे । उपमेयर विमला तामाङले नगर भित्रका युवाहरुलाई सरकारी सेवा अबसरको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको भन्दै परीक्षाको तयारी जिम्मेवार भएर गर्न आग्रह गरिन ।

लोकसेवा सारथी प्रा।लिका सञ्चालक महेश घिमिरेले स्थानीय सरकारसंग सहकार्य गरी चितवनमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए । २०७६ सालमा स्थापना भएको प्रा।लि।ले अहिले सम्म लोकसेवा तयारी कक्षा दिएका १५ हजार युवामध्ये एक हजार २०० जना सरकारी सेवामा जागिरे रहेको उनले जानकारी दिए ।

८० प्रतिशत नगरपालिका र २० प्रतिशत प्रशिक्षार्थीको लगानीमा गरिएको तयारी कक्षामा सुकदेब लम्साल, ऋषिप्रसाद कडुवाल, झलकुमार श्रेष्ठ, अर्जुन लामिछाने, सविता अर्याल, तीर्थराज खनाल, सुवास कुँवर, रमेश अधिकारी, विष्णु अधिकारीले प्रशिक्षार्थीहरुलाई पढाएका थिए । महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट सुन्तलीमाया स्याङ्तान, सेवक अधिकारी र रमा पौडेलले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको