चितवनमा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालमा अभिमुखिकरण तथा छलफल

चितवन । देशमा डिजिटल प्रविधिको तीव्र विकाससँगै अनलाइन मिडिया तथा युट्युब जस्ता डिजिटल प्लेटफर्महरूबाट सञ्चालित पत्रकारितामा देखा परेका समसामयिक सवालहरूलाई सम्बोधन गर्ने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ, चितवनको समन्वयमा “अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरूका सम्बन्धमा अभिमुखिकरण तथा छलफल कार्यक्रम” चितवनमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले समसामयिक सञ्चार माध्यमहरूको भूमिकालाई सकारात्मक दिशामा डो-याउन यस्तो कार्यक्रम आवश्यक भएको बताए। “प्रविधिले पत्रकारितामा सहजता त ल्याएको छ, तर यसको दुरुपयोग पनि उत्तिकै भइरहेको छ,” उनले भने, “त्यसैले सन्तुलित, तथ्यमा आधारित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता हो।”

विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अनलाइन पत्रकारिताको विस्तारले सूचनाको पहुँच त छिटो गराएको भए पनि त्यसको गुणस्तर, मापदण्ड र उत्तरदायित्व सुनिश्चित गर्न सरकारी र स्वनियमन दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

प्रेस काउन्सिल नेपालका सदस्य विजय राज अधिकारीले अनलाइन मिडियामा देखिएको सामग्रीको गैर-जिम्मेवार प्रवृत्तिको नियमन आवश्यक भएको बताए। उनले प्रेस काउन्सिलले तयार गरेको आचारसंहिता र नयाँ मापदण्डको कार्यान्वयनमा सञ्चारकर्मी स्वयं गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अध्यक्षता गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले वर्तमान पत्रकारिता परिदृश्यमा सरकारको भूमिका, नीति निर्माण प्रक्रिया र प्रविधिको समायोजनबारे जानकारी गराउँदै डिजिटल युगमा नागरिकको सूचना अधिकार सुरक्षित गर्न सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा चितवनका पत्रकारहरु ईश्वर जोशी, प्रमिता ढकाल, रमेश कुमार पौडेल, सूर्य अधिकारी, गोविन्द घिमिरे, कृष्ण आर्चाय, राजु सापकोटा लगायतले धारणा राख्दै युट्युब पत्रकारितामा पेशागत मर्यादाको खडेरी, तथ्य जाँचको कमजोरी, अघोषित प्रतिष्पर्धा र सनसनीपूर्ण सामग्रीको प्रवृत्तिबाट पेसामा नकारात्मक असर परेको बताएका थिए। उनीहरूले प्रेस स्वतन्त्रता कायम राख्दै यस्ता प्लेटफर्महरूमा पनि आवश्यक नियमन, तालिम र नीति आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागी पत्रकार तथा विज्ञहरूले सरकार, प्रेस काउन्सिल, महासंघ र अनलाइन मिडिया सञ्चालकबीच निरन्तर संवाद र समन्वयको खाँचो रहेको, प्रविधिसँगै अगाडि बढ्न सक्ने ज्ञान, सीप र नीति निर्माणमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले अनलाइन पत्रकारिता तथा डिजिटल मिडियामा देखिएका चुनौती, अवसर र समाधानको उपायबारे गम्भीर बहसको वातावरण सिर्जना गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको