नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुँदै, १५ सय पिन रगत संकलन गर्ने लक्ष्य

चितवन । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा नेपालमै पहिलोपटक रक्तदान महोत्सव चितवनमा आयोजना हुने भएको छ। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा जेठ ३१ गते (शनिबार) भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिनेछ।

सोसाइटीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै महोत्सवमार्फत एकैदिन १,५०० पिन रगत संकलन गर्ने लक्ष्यसहित तयारी पूरा भएको जानकारी दिएको हो।

नयाँ रक्तदातालाई प्रोत्साहन गर्ने उद्देश्य

ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष एकराज बुर्लाकोटीले महोत्सवमार्फत विशेषगरी नयाँ युवा रक्तदाताहरूलाई प्रेरित गर्दै नियमित रक्तदाताका रूपमा तयार पार्ने उद्देश्य रहेको बताए। उनका अनुसार कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न उपहार योजनाहरू पनि राखिएका छन्।

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरी जस्ता विविध कार्यक्रमहरू समावेश गरिएको छ। त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा १०० पिनभन्दा बढी रगत संकलन गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई विशेष सम्मान गरिनेछ।

रक्त आवश्यकताको सन्तुलनमा केन्द्रित

ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनको रक्त आवश्यकतालाई मध्यनजर गर्दै महोत्सव आयोजना गरिएको जानकारी दिए। चितवनमा हाल दैनिक डेढ सय पिन रगत आवश्यक हुने जानकारी दिँदै, सोही अनुसार संकलन भएको रगत छिमेकी जिल्लामा पनि पठाउने तयारी भइरहेको बताए।

प्रदेशस्तरीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार महोत्सवमा संकलित १,५०० पिन रगत चितवनको वार्षिक खपत अनुसार पर्याप्त हुने छ।

रक्तदान शरीरको लागि लाभदायक

फिजिसियन डा. भोजराज अधिकारीले मानिसको शरीरमा तीन महिनामा एकपटक स्वतः नवीकरण हुने रगत दान गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने र बरु लाभ हुने बताए। उनका अनुसार १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति, जो दीर्घरोगी वा नियमित औषधि सेवनकर्ताहरू नभएका छन्, रक्तदान गर्न योग्य हुन्छन्।

रक्तदातालाई पुरस्कारको व्यवस्था

महोत्सवको दिन रक्तदान गर्ने सहभागीहरूका लागि ब्लड डोनर्स सोसाइटी चितवनले आकर्षक पुरस्कारको समेत व्यवस्था गरेको छ। सोसाइटीका अनुसार चिठ्ठा प्रतियोगतामार्फत सोफा सेट, मौलाकालिका केबुलकार टिकट, मोबाइल, मदन पुरस्कार विजेता पुस्तकहरूको प्याकेज, होलबडी चेकअप टिकट, कोट सेट मिक्चर लगायतका पुरस्कारहरू प्रदान गरिनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको