सप्तगण्डकी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सात बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई बुझायो ध्यानाकर्षण पत्र

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले सातबुँदे मागसहित क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। शैक्षिक सुधार र सेवा प्रवाहमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो।

अनेरास्ववियुका अध्यक्ष प्रकास सिलवालले एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा शिफ्ट लक प्रणाली कार्यान्वयन भइसके पनि प्राध्यापक र कर्मचारी समयमै उपस्थित नहुने, घण्टौँसम्म हराउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल सुधार गर्न माग गरेका छन्। साथै, कर्मचारीहरुलाई दुई शिफ्टमा विभाजन गरेपछि अब रोटेसन प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ।

विद्यार्थीहरुले छात्रवृत्तिका लागि अन्तरवार्तामा सहभागी हुन नपाएको भन्दै थप दुई दिनको समय दिनुपर्ने माग पनि गरिएको छ। साथै छात्रवृत्ति नतिजा समयमै प्रकाशित गर्न पनि आग्रह गरिएको छ।

प्रशासनिक कार्यसम्पादनमा देखिएको लापरवाहीप्रति पनि संगठनको ध्यानाकर्षण भएको जनाइएको छ। “जो जुन फाँटमा कार्यरत छन्, उनीहरुले त्यसैअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने,” विज्ञप्तीमा उल्लेख छ।

कर्मचारीहरुको खाजा खाने समय ३० मिनेट सीमित गरी सेवाग्राहीलाई असर नपर्ने गरी तालिका कार्यान्वयन गरिनुपर्ने, प्राध्यापक र कर्मचारीले पोशाक र आइडी कार्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, गेटमा सुरक्षा गार्डलाई ड्रेस सहित खटाइनुपर्ने र डिजिटल प्रवेश प्रणाली स्थापना गर्नुपर्ने माग समेत उठाइएको छ।

विगत लामो समयदेखि प्राध्यापक तथा कर्मचारीले तलब नपाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले तलब नियमित रुपमा दिनु पर्नेमा जोड दिएको छ।

यसअघि अनेरास्ववियु तथा अन्य विद्यार्थी संगठनसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै त्यसलाई यथाशीघ्र लागू गर्न पनि संगठनले आग्रह गरेको छ।

विज्ञप्तीमा अनेरास्ववियुले शैक्षिक सुधारका लागि आन्दोलन मात्र होइन, रचनात्मक पहल पनि गरिरहेकाले प्रशासनले मागहरुलाई गम्भीर रुपमा लिनुपर्ने चेतावनी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको