कालिकामा प्रहरीसँग अन्तर्क्रिया: इलाका प्रहरी कार्यालय स्थापनाको माग

चितवन । कालिका नगरपालिका नगरकार्यपालिका र जिल्ला प्रहरी कार्यालयबीच अन्तर्क्रिया कार्यक्रम गरिएको छ । बुधबार कालिका नगरपालिकाको शान्ति सुरक्षाको विषयमा कालिका नगरपालिकाका कार्यपालिका सदस्य र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दी पुरीलगायतको टिमसँग शान्ति सुरक्षाको विषयमा अन्तर्क्रिया गरिएको हो ।

कालिका नगरपालिका क्षेत्र बनाएर प्रहरी निरीक्षकको दरबन्दीसहित इलाका प्रहरी कार्यालय स्थापना गर्न सके शान्ति सुरक्षा स्थापना गर्न मद्दत पुग्ने नगरप्रमुख विनोद रेग्मीले बताए । कालिका नगरपालिका क्षेत्रमा लागूऔषध र नदीजन्य सामग्रीको चोरी सिकारी हुने गरेको स्वीकार्दै यस्ता प्रकृतिका घटना शून्यमा झार्न प्रहरीसँग नगरपालिका सहकार्य गर्दै अघि बढेको उनले बताए ।

केन्द्रीय सरकार मातहतका संघसंस्था र स्थानीय सरकारबीच कहिलेकाहीँ मतभेद देखिने गरेको बताउँदै प्रहरी संगठन पनि स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने र नगरमा शान्ति सुरक्षा स्थापनाको लागि नगरबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको नगरप्रमुख रेग्मीको भनाइ थियो ।

कालिकाका जनप्रतिनिधिहरुले नगरपालिकामा इप्रका स्थापनन गर्न माग गरेका छन् । रत्ननगरबाट दूरीका हिसाबले पनि टाढा भएको र सेवा प्रवाहमा अप्ठ्यारो हुने गरेको बताउँदै कालिका क्षेत्र बनाएर प्रहरी निरक्षिकसहितको प्रहरी चौकी स्थापना गर्न माग गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख पुरीले समग्र चितवनको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न प्रहरी सक्रिय भएर कानुनी राज्यको आभास दिलाउन लागिपरेको बताए । उनले कालिकामा प्रहरी निरीक्षकसहितको इप्रका स्थापनाको माग समयअनुकूल रहेको बताउँदै प्रहरी प्रधान कार्यालयमा जानकारी गराउने प्रतिबद्धता जनाए ।

उनले प्रहरी कसैको दबाब र प्रभावमा नपरी नेपालको संविधानले तोकेको ऐनअनुसार काम गर्न प्रहरी युनिटहरुलाई कामकारबाही गर्न निर्देशन दिए ।

अन्तर्क्रियामा नगर उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रन्जन अवा, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा, कालिका नगरपालिकाका कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, कालिका नगरपालिकाभित्रका विभिन्न अस्थायी प्रहरी पोस्टका इन्चार्जलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको