चितवन । कालिका नगरपालिकाले करदाताहरुको सहुलियतका लागि डिजिटल माध्यम प्रयोग गरी राजश्व भुक्तानी गर्ने नयाँ सुविधा सुरु गरेको छ। नगरपालिकाले गत सोमबार प्रकाशित सूचनामा व्यवसाय कर, घर तथा जग्गा बहाल कर, सेवा शुल्क तथा अन्य दस्तुरहरु अब QR स्क्यान प्रविधिको माध्यमबाट सहज रूपमा तिर्न सकिने जानकारी दिएको हो।
नगरपालिकाका अनुसार यस सेवा अन्तर्गत नगर कार्यपालिकाको कार्यालय तथा वडाहरुमा तिर्नुपर्ने विभिन्न करहरु मोबाइल एपमार्फत डिजिटल रुपमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
सूचनामा सम्पत्ती कर तथा भूमिकर भने हालको लागि यो प्रणालीमा समावेश नभएको जनाइएको छ। तर, आगामी आर्थिक वर्षदेखि सम्पूर्ण प्रकारका करहरु डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने तयारी भइरहेको समेत उल्लेख गरिएको छ।
नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार यो प्रणालीले नगरबासीलाई सजिलो बनाउने र पारदर्शिता कायम गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि नगरपालिका कार्यालयले प्रदान गरेको QR कोड स्क्यान गर्न अनुरोध गरिएको छ।










