इच्छाकामनाका ३५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन । सेवा अहिले नेपाल संस्थाको आयोजनामा इच्छाकामना गाउँपालिकाका ३५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सोमबार सम्पन्न कार्यक्रममा इच्छाकामना–२ मायाटारका १७३ जना तथा इच्छाकामना–७ मा अवस्थित लाइट हाउसमा अध्ययनरत १८० जना विद्यार्थीहरूले सामग्री प्राप्त गरेका हुन्।

मायाटारमा आयोजित कार्यक्रम सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा सदस्य ऐक बहादुर गुरुङ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसी बहादुर गुरुङको उपस्थिति रहेको थियो। यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्य प्रजा, प्रधानाध्यापक पदम बहादुर प्रजा तथा सेवा अहिले नेपालकी प्रतिनिधि शोभा ढकाल पनि कार्यक्रममा अतिथि रहेका थिए।

विद्यार्थीहरूलाई कापी, कलम, इरेजर, करकटाइ, स्कुल झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो। ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीहरूलाई पठनपाठनमा थप सहज बनाउने उद्देश्यले संस्था सक्रिय रहेको संस्थाका निर्देशक ढकालले बताए।

लाइट हाउस केन्द्रमा आयोजित कार्यक्रम पनि सोही संस्थाको सहकार्यमा सम्पन्न भएको हो। उक्त स्थानका १८० जना विद्यार्थीहरूलाई समेत सोही प्रकारका सामग्रीहरू प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको