चितवन । चितवनको कालिका नगरपालिकामा राजस्व प्रणालीलाई प्रविधिमैत्री र एकीकृत बनाउने उद्देश्यसहित “राजस्वमा सूत्र मोड्युल सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ। शनिवार सम्पन्न कार्यक्रममा प्रत्येक वडाबाट वडा सचिव तथा वडा सहायकहरूको उपस्थिति रहेको थियो। साथै, नगरपालिकाबाट राजस्व संकलन गर्ने शाखाका सहायक कर्मचारीहरू समेत सहभागी बने।
कार्यक्रममा लेखा समिति संयोजक टिकाराम रेग्मी, वडा नं १० का वडा अध्यक्ष नरजङ प्रजा तथा आर्थिक प्रशासन शाखा तथा राजस्व प्रमुख वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल वक्ताका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रस्तुत निष्कर्ष तथा निर्देशन अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारको राजस्व सूत्र मोड्युल पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। चितवन जिल्लामा यस प्रणालीलाई पहिलोपटक पूर्ण रूपमा लागू गरिने जनाइएको छ।
मुख्य निर्देशनहरू यस प्रकार छन्:
राजस्व प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने।
नगद कारोबारलाई घटाइ QR भुक्तानी प्रणालीलाई प्रवर्द्धन गरिने।
दैनिक राजस्व रकम बैकमा जम्मा नगरेमा १०% ब्याज/हर्जनासहित दाखिला गराउने तथा आलेपले नियमित अनुगमन गर्ने।
राजस्वका कारण कुनै पनि सेवाग्राहीको काम नरोकिने, वैकल्पिक उपायमार्फत सेवा प्रवाह निरन्तर गरिने।
नगरपालिका सेवा केन्द्रमै राजस्व संकलनको व्यवस्था मिलाइने, सेवाग्राहीलाई राजस्व शाखामा जानुपर्ने आवश्यकता नरहने।
सम्पूर्ण नगरपालिका भरि राजस्व संकलनमा एकरूपता कायम गरिने।
राजस्व चुहावट रोक्न सबै पक्ष एकजुट हुने।
वडा कार्यालयबाट संकलन हुने राजस्वको पूर्ण जिम्मेवारी वडा सचिवलाई दिइने।
यो अभिमुखिकरण कार्यक्रमले स्थानीय राजस्व प्रणालीलाई पारदर्शी, उत्तरदायी र डिजिटल बनाउने दिशातर्फको ठुलो कदमको रूपमा लिइएको छ।









