कालिकामा करदाता सचेतना कार्यक्रम सम्पन्न

चितवन । कालिका नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा खोलेसिमल बजार व्यवस्थापन समितिको आयोजनामा “करदाता सचेतना कार्यक्रम” तथा समितिको वार्षिक साधारणसभा मणिखोला पार्क, रत्ननगर–११ मा भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कालिका नगरपालिकाका आर्थिक प्रशासन तथा राजस्व शाखाका प्रमुख तथा वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले कर सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए । व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले कर सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए । व्यवसायीहरुले राखेको जिज्ञासामा कडुवालले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरे । उनले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्राथामिकता रहेको बताए ।

आफ्नो व्यवसायको कर अधिकृत स्वंय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने कडुवालको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो । व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने उनले बताए ।

उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नु पर्नेमा जोड दिए । पालिका भरका व्यवसायलाई शुष्म तरिकाले अनुगमन गरिरहेको बताए । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको उनको भनाई छ ।

उनले आफनो व्यवसाय गर्दा दर्ता नविकरणदेखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिए । कर सम्बन्धी आइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा कालिका नगरपालिकाले करदाता शिक्षा कार्यक्रम गर्दै आएको बरिष्ठ लेखा अधिकृत प्रसाद कडुवालले बताए । कार्यक्रममा करिब २०० जना स्थानीय व्यापारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सफल आयोजनाका लागि खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष सबिता अधिकारी वाग्ले, सचिव नविन अधिकारी, साथै कार्यक्रमलाई प्रेरणा र हौसला प्रदान गर्नुहुने कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, वडा नं ६ का अध्यक्ष टिकराम रेग्मी लगायत सबैलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको