
नवलपुर । सडक विस्तारका लागि आजदेखि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ ।
आजदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले बताए ।
यस अघि चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर काम गरिने भनिएपनि पानीका कारण २ दिन भन्दा काम हुन सकेन ।
दाउन्नेको १४ किलोमिटर खण्डमा पूर्वी तर्फ मात्रै ७/८ स्थानमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
उनका अनुसार आज पनि पानीका कारण दाउन्नेमा लामो जाम लागेको छ ।
प्रहरीले हिजो अबर मात्रै सूचना जारी गरी दाउन्नेमा बाटो चिप्लो भएका कारण यातायात सञ्चालनमा समस्या रहेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो ।