
रवि रेग्मी, चितवन । चितवनको रत्ननगर नगरपालिकामा भूमिहिन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । आज रत्ननगर नगरपालिका-१२मा एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल र रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाह्द सापकोटाले भूमिहिन सुकुम्बासीहरुलाई संयुक्तरुपमा जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुभएको हो ।
रत्ननगर-१२का १२३ परिवारलाई जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । रत्ननगर नगरपालिकामा २६४३ भूमिसंग सम्बन्धित समस्या भएका नागरिक रहेको नगरपालिकाले जनाएको छ । पहिलो पटक रत्ननगरमा ३९ ओटा प्रक्रिया पूरागरि लालपुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले धेरै बोल्नु भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउँनुभयो । मन्त्री अधिकारीका अनुसार नेपाल सरकारले भूमि समस्या समाधान आयोग गठनगरि जग्गा नभएका नागरिकलाई लालपुर्जा दिने काम गरेको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले संविधान अनुसार नै नागरिकलाई लालपुर्जा वितरण गरिएको बताउँनुभयो । सबै भूमिको समस्य आफ्नो कार्यकालमा नै समाधान गर्ने समेत अध्यक्ष रिजालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लाल पुर्जा पाएसंगै खुशी हुँदै स्थानियले सबैलाई धन्यवाद समेत व्यक्त गरेका छ्न । बर्षैदेखि लालपुर्जाको प्रतीक्षामा थियौं, आज त्यो सपना पनि साकार भएको उनिहरुले बताए । नगरप्रमुख प्रलाह्द सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंङ मुक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो ।