
सानोमा आमालाई मिठाइ किन्दिनु न भनेर रुँदा,
“छोरामान्छे भएर रुनु हुन्छ?” भन्ने प्रश्नले
मेरो आँसुलाइ नै अपराध ठहर्यायो।
त्यो दिनदेखि,
मेरो आँखा सुख्खा जमीनजस्तो भयो,
जहाँ आँसु बग्नै पाउँदैनथ्यो।
स्कुलको कक्षामा,
आँखा रातो पार्दै पिडा लुकाएर छिर्दा,
“रुन्चे” भनेर जिस्काउनेहरूका हाँसोले
मेरो भित्री चोटलाई गिज्यायो।
र, म बुझ्दै गएँ
“छोरामान्छे भएर त बलियो देखिनुपर्छ”
भन्ने समाजको नारा
मेरो हृदयमा हथौडाले झैं बजाइरह्यो ।
समाजले भनेको छ,
छोरा मान्छे कमजोर हुनु हुँदैन,
आँसु उसको जीवनको हिस्सा हुँदैन।
तर कसलाई थाहा छ,
कसरी आँसु पिउँदा पिउँदा मनभरि समुद्र बनेको हुन्छ,
कसरी मुस्कानको आवरणले
भित्रका आँधीहरू छोपिन्छन्।
जब हामी हाँस्न पाउँछौं,
सबैले भन्छ्न, “मोज छ जिन्दगी”
तर हामीले रुन खोज्दा,
किन सबै अचम्मित हुन्छन्?
के रुनु खुशी जस्तै भावना होइन र?
के आँसु बहाउनु पनि आत्माको स्वच्छता होइन र?
हास्न हुन्छ भने,
रुन किन नहुने रहेछ?
यो प्रश्नको चित्तबुझ्दो उत्तर,
अहँ! मैले कहिल्यै पाइन ।
रुनु कमजोरी होइन,
यो त हृदयले आफ्नो भारलाई
आकाशमा छोड्ने पवित्र प्रयास हो।
आँसु त कुनै कथा हो,
जो शब्दले भन्न नसक्ने उकुसमुकुसको भाषा बोल्छ।
यो त एउटा गीत हो,
जो मनका अतृप्त आकांक्षाहरूले गाइरहेको हुन्छन।
हास्नेलाई संसारले अँगाल्छ,
तर रुनेलाई किन प्रश्न गर्छ?
रुने हृदय कायर होइन,
यो त साहसी हो,
जो आफ्नो सत्यसँग लड्न सक्ने आँट राख्छ।
आँसु त शान्त समुन्द्र हो,
जहाँ भावना मुक्त भई बग्छ।
यो कमजोरहरूको होइन,
यो त सजीवहरूको गहना हो।
रुन दिनुहोस्,
किनकि आँसु बहनु पवित्र हो।
रुन दिनुहोस्,
किनकि आँसु बगाउँदा मन हल्का हुन्छ।
केवल हाँस्ने होइन,
रुन पनि जिन्दगीको एकरूपता हो।
आखिर,
मनमा गहिरो चोट नहुनेलाई
आँसुको सौन्दर्य के थाहा!
-निर्मल धिताल
कालिका, चितवन