पाकिस्तानमा यात्रुवाहक रेलमा आत्मघाती हमला, २३ जनाको मृत्यु, ५३ घाइते

इस्लामावाद। पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटाको चमन गेट नजिक यात्रुवाहक रेललाई लक्षित गरेर गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यात्रुले खचाखच भरिएको रेल चमन गेट क्षेत्रबाट गुडिरहेको बेला विस्फोट गराइएको थियो । विस्फोटपछि रेलका केही डिब्बा क्षतिग्रस्त भएका छन् भने घटनास्थलमा ठूलो अफरातफरी मच्चिएको थियो ।

घटनालगत्तै पाकिस्तानी सुरक्षा निकाय, सेना तथा उद्धार टोली घटनास्थल पुगेका थिए । घाइतेहरूलाई क्वेटास्थित विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको कडा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । बलुचिस्तानमा पछिल्लो समय सुरक्षा चुनौती बढ्दै गएको छ भने रेल, सुरक्षा चौकी र सरकारी संरचनामाथि आक्रमणका घटना दोहोरिन थालेका छन् ।

हालसम्म कुनै समूहले औपचारिक रूपमा आक्रमणको जिम्मेवारी लिएको छैन । सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको