गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नवीन देवकोटा सभापतिमा निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचन प्रक्रियामा सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा भएको थियो। कुल १०९ मत खसेकोमा १०७ मत सदर र २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।निर्वाचन परिणाम अनुसार नवीन देवकोटाले ५६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए भने अर्का उम्मेदवार इन्द्रबहादुर गुरुङले ५१ मत प्राप्त गरेका छन्।
नवनिर्वाचित कमिटीको उपसभापतिमा हेमा भट्ट, सचिवमा रेशम श्रेष्ठ तथा सहसचिवमा विशाल गुरुङ चयन भएका छन्। सदस्यहरूमा बाकिला गौतम, ध्रुव ढकाल, सुशीला बराम, रामचन्द्र रेग्मी, मेकबहादुर थापा मगर, अमृता घिमिरे र फूलमती सुनार रहेका छन्।
त्यसैगरी अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सुमन अर्याल, प्रदेश प्रतिनिधिमा परशुराम श्रेष्ठ तथा जिल्ला प्रतिनिधिमा अर्जुन अंगाई, सुमित गुरुङ, केदार पोखरेल र सुजता श्रेष्ठ निर्वाचित भएका छन्।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै सांसद खनालले यस अधिवेशनले पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।
अधिवेशन सफल बनाउन केन्द्र, प्रदेश तथा जिल्ला तहबाट खटिएका निर्वाचन समिति, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।









