
चितवन । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज नगर अस्पतालका समस्याबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जानकारी गराउँदै आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
कालिकामा स्थापना भएको नगर अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेलसँग माग गर्नुभएको हो । सो क्रममा मन्त्री पौडेलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नगरपालिकाका प्रमुख रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिनुभएको हो ।
भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरु आवश्यक रहेकाले उपलब्ध गराउन माग गर्नुभएको थियो । उहाँले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गर्नुभएको थियो ।
सो क्रममा मन्त्री पौडेलले केही उपकरणहरु खरिदको प्रक्रियामा रहेको र खरिद भएपछि सहयोग गरिने आस्वासन दिनुभएको पनि नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
नगरपालिकामा हाल १५ शैयाको अस्पताल सञ्चालनमा छ । नगर अस्पतालमा दैनिक ३०० देखि ४०० जना सेवाग्राहीले सेवा लिँदै आएका छन् । उक्त अस्पताल चेपाङ समुदायले सेवा लिने महत्वपूर्ण अस्पताल हो ।
यसअघि उहाँले पालिकाको विजुलीका समस्या लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग समेत भेटघाट गर्नुभएको थियो ।