प्रेस चौतारी चितवनले क्यान्सर पीडित पत्रकार पाठकलाई गर्‍यो ६२ हजार आर्थिक सहयोग

चितवन । प्रेस चौतारी चितवनले क्यान्सर तथा क्षयरोगको उपचार गराइरहेका पत्रकार भूपराज पाठकलाई नगद ६२ हजार आर्थिक सहयोग गरेको छ । रक्तक्यान्सर रोग तथा क्षयरोगबाट पीडित भएर भारतको राजीव गान्धी अस्पतालमा उपचार गराइरहेका पत्रकार पाठकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रेस चौतारी चितवनले सो रकम अग्रज पत्रकार नारायण सापकोटा तथा लक्ष्मण गौतमलाई हस्तान्रण गरिएको हो ।

पत्रकार महासंघ चितवनका निवर्तमान कार्यसमिति सदस्य रहेका पाठक प्रेस चौतारी चितवनका सदस्य हुन् । उनका दाजु विपिन पाठक पनि चौतारी चितवनका सदस्य हुन् । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले झण्डै एक महिनादेखि भारतमा उपचार गराइरहेका पाठकको उपचारका लागि संगठनका तर्फबाट सहयोग गरिएको बताए । उनले पाठकको उपचारका लागि सबैतिरबाट सहयोग भैरहेको भन्दैं स्वास्थ्यलाभको कामना गरे । उनले प्रेस चौतारी चितवनले आफ्ना सदस्यहरुलाई समस्यामा पर्दा संगठनका तर्फबाट सकेको सहयोग जुटाउँदै आएको बताए ।

प्रेस चौतारी चितवनका जिल्ला इन्चार्ज प्रतिमा सिलवालले दुःखमा, समस्यामा पर्दा संगठनले आड, भरोसा, सुरक्षा र सहयोग दिनु दायित्व भएको बताइन् । उनले चौतारीले विगतमा अग्रज पत्रकार नवराज ढकाल दुर्घटनामा पर्दासमेत सहयोग गरेको स्मरण गर्दै चौतारी चितवनलाई धन्यवाद दिइन् ।

 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एमाले चितवनका अध्यक्ष कमलराज पाठकले क्यान्सर जस्तो जटिल रोगको उपचारका लागि ठूलो रकम खर्च हुने हुँदा सबैको साथ सहयोगबाट हौसला र प्रभावकारी उपचार मिल्ने बताए । उनले पत्रकार पाठकको स्वास्थ्य लाभको कामना गरे । प्रतिभावान पत्रकार, कलाकारसमेत रहेका पाठकको उपचारका लागि विभिन्न संघसंस्था र ब्यक्तिहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको